नवदुर्गा देवगण सिद्ध गर्ने भक्तपुरको दशैं « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


नवदुर्गा देवगण सिद्ध गर्ने भक्तपुरको दशैं


234
Shares

भादगाउँ । आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैं । यसपर्वलाई नेवार समुदायले मोहनी नखाः भन्छन् भने यो चाडलाई ठाउँ विशेषअनुसार दशैं, दुर्गापूजा, विजयादशमी र नवरात्रि पनि भन्ने गर्दछन् ।

महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको मोहनी लगाई आफ्नो वशमा पारी बध गरेका कारण नेवार समुदायमा दशैंलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ । भक्तपुरमा बडादशैं विशेष महत्वका साथ मनाउने गर्दछन् । भक्तपुरको जीवित परम्परामध्ये नवदुर्गा नाच पनि एक हो । विजयादशमीको दिन नवदुर्गा देवगण सिद्ध हुने भएकाले पनि बडादशैंलाई भक्तपुरवासीले विशेष महत्वका साथ मनाउने गरिएको उहाँको भनाइ छ ।

प्रत्येक वर्ष घण्टाकर्ण पर्वका दिनदेखि नवदुर्गाको मुखुण्डो बनाउने कार्य सुरु हुन्छ र महानवमीको राति मांसाहुति यज्ञ गरी महिषासुर राक्षसको प्रतीक खम्येको बलि दिएर ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्दछन् । घटस्थापनाको दिनदेखि दशैंको नवरात्रि सुरु हुन्छ । नवरात्रिमा भक्तपुरका स्थानीय बासिन्दा विभिन्न शक्तिपीठको दर्शनका लागि जाने गर्दछन् । नवरात्रिमा भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, एकान्त कुमारी देवगृह र तलेजुमा विशेष मेला लाग्दछ ।

बडादसैँ १५ दिनसम्म मनाइने चाड भए पनि विषेशगरी सप्तमीदेखि दशमीसम्म बडो हर्षोल्लासका साथ मनाइने परम्परा छ । नेवार समुदायले सप्तमीको दिन घर–घरमा फूलपाती र राँगोको मासु भित्र्याउने स्याकोट् मनाइन्छ । यो दिन तलेजुलाई आफ्नो देवगृहबाट कुमारी चोक (दशैंघर)मा स्थानान्तरण गरिन्छ । यसलाई द्यः क्वहा विज्याइगु (देवता तल आएको) भनिन्छ ।

महाअष्टमीको दिनमा नेवारहरूले दशैंका लागि गुठीबाट ल्याएको मासुलाई पूजा गरेर भित्र्याउने परम्परा छ । यो दिन बिहानै नुहाइधुवाइ गरी देवीलाई पूजा गरी सम्येखाइ बेलुका कुछि भ्वय (दुई मानाको भोज) खाने गर्दछन् । विशेषगरी केराको पातमा राखेर खाने यो भोजमा दुई माना चिउरा, छोयला, अण्डा, माछा, अम्बा, केरा, बारालगायत १२ थरि पकवान आवश्यक पर्दछ । यो दिनमा १८ भुजा भएको भगवतीलाई आह्वान गर्न डमरु, घण्टा, शङ्ख बजाई पूजा गर्छन् । राति व्यासीबाट निकुथु (राँगा) जात्रा गरी तलेजु भित्र्याउँछन् ।

अष्टमी र नवमीबीचको रातलाई कालरात्रि भनिन्छ । यो रातमा तलेजुमाा राजोपाध्य, जोशी र कर्माचायद्वारा विधिवत्रूपमा पूजा गरी निकुथुसहित २५ राँगालाई बलि दिइन्छ । पूजामा तलेजुलाई ८४ प्रकारका रोटीको मन्दिर बनाइ चढाउने गरिन्छ । सो मन्दिरमा मुठल, छाना र गजुरसमेत राखिएको हुन्छ । सोही रोटी विजयादशमीको दिनमा तलेजुको प्रसादका रूपमा बाँड्ने गरिन्छ ।

महानवमीको दिनलाई दशैंको महत्वपूर्ण दिनका रूपमा लिइन्छ । यस दिन तलेजुलगायत हरेकको घर–घरमा भगवतीलाई भोगबलि दिइन्छ । हरेकले आफ्ना काम गर्ने औजार, हातहतियार सबै पूजा गर्दछन् । नेवार समुदायले विशेष प्रकारको दियो बालेर सो दियो माथि माटोको सलिचा घोप्टो पारेर राखेर मोहनी बनाउने गर्दछन् । यसै दिन नेवार समुदायमा घरमा सुख शान्ति र श्री प्राप्तिका लागि बेलविवाह नगरेका बालिकालाई जीवित देवी कुमारी मानी सिङ्गारपटार गरेर नयाँ लुगा, चुरा, पञ्चामित्र दिएर पूजा गरिन्छ ।

महानवमीको दिन बालिकालाई कुमारी मानेर पूजा गर्ने लोककथा भक्तपुरका राजा जगज्योति मल्लसँग जोडिएको छ । राजा जगज्योतिसँग तलेजु भवानी स्त्रीको रूपमा सधैँपासा खेल्न आउने गर्दथिन् । एक दिन राजाले तलेजुप्रति कुदृष्टी लगाएपछि तलेजु रिसाएर पासा खेल्न आउन छाडिदिइन् । यसबाट राजा साहै दुःखी भएको देखेर तलेजु भवानी सपनामा आई ममाथि भक्ति छ, मसँग कुरा गर्ने हो भने नवमीको दिन शाक्य वा बज्राचार्यकी छोरी ल्याइ मेरो आह्वान गरी पूजा गर्नु भनी राजालाई आदेश दिइन् । सोहीअनुसार आज पनि भक्तपुरमा महानवमीको दिन शाक्य र बज्राचार्यको छोरीलाई कुमारी पुज्ने प्रचलन छ । यो पूजा गर्ने ठाउँ कुमारीचोक नामले प्रचलित छ ।

महानवमीको साँझ नवदुर्गा देवगणको सिद्धी प्राप्तिका लागि बलि दिन भक्तपुर नगरपालिका–३ गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवघर)भित्र राखेर पालनपोषण गरिएको खम्ये दौडाएर ब्रम्हायणी शक्तिपीठ पु¥याउने प्रचलन रहेको छ । यो प्रचलनलाई भक्तपुरमा खम्ये जात्रा भनिन्छ । बडादशैंको धार्मिक आख्यान महिषासुर राक्षसको वधसँग गाँसिएको छ । भक्तपुरमा खम्येलाई सोही महिषासुर राक्षससँग तुलना गरिन्छ । भक्तपुरमा राक्षसी स्वरुप खम्येको हार र देवी शक्तिको जीतका रूपमा खम्ये जात्रालाई लिने गरिन्छ । यो जात्रा नवदुर्गा देवी मिलेर महिषासुरलाई वध गरेको खुसीयालीमा मनाउने एक मात्र पृथक जात्रा हो । नवमीकै दिन राति लालाछेंमा नवदुर्गाको मुखुण्डो प्रदर्शन गरी देवगण आएर मुखुण्डो ब्रम्हायणी शक्तिपीठ लिएर जान्छन् ।

दशमीको दिन भवानीलाई विधिवतरूपमा अन्तिम पूजा गरिन्छ । यो दिन देवी दुर्गाभवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन् । यो दिन भक्तपुरको ब्रम्हायणीमा ठूलो मेला लाग्दछ । यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादका रूपमा शिरमा लगाइन्छ । तलेजुसमेत विधिवतरूपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुनः देवगृहमा विराजमान गराइन्छ ।

राति ब्रम्हायणीबाट नवदुर्गा फर्केपछि खड्गजात्रा निकालिन्छ । देवीले दैत्यहरूलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरू बताउँछन् । खड्गजात्रालाई पायो जात्राका रूपमा पनि लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवतरूपमा पूजा गर्दछन् । यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोशाक लगाएका मानिससमेत जात्रामा सामेल हुन्छन् ।

किंवदन्तीअनुसार सत्ययुगमा दैत्यहरूले ब्रह्माको तपस्या गरे । ब्रह्माले खुसी भई दैत्यहरूलाई वरदान माग्ने आज्ञा दिए । दैत्यले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रह्माले स्वास्नी मान्छेबाहेक कसैले मार्न नसक्ने वरदान दिए । वरदान प्राप्त गरेपछि दैत्यहरू स्वर्गमा गई देवताहरूलाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पत्ति गराए । दैत्यहरूसँग युद्ध गराए अन्तमा मुख्य–मुख्य दैत्यहरू सबै मारिए । बाँकी भएका दैत्यहरू कोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यहरूलाई खोजी–खोजी मार्न थाले । यसैको सम्झनामा खड्गजात्रा सुरु भएको लोककथन रहेको पाइन्छ । – रासस