
सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् ।
दशैंको मुखमा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामीण सडकमा सञ्चालित जिप रहेको ट्राफिक प्रहरी इन्चार्ज कृष्णकुमार कटवालले जानकारी दिनुभयो ।
दशैं र तिहार जस्ता चाडपर्वलाई कारण देखाउदै बोलेरोको पछाडिको ढाला तथा सिटमा समेत बढी यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले निगरानी बढाएको छ । यहि असोज १ गते यता जिल्लामा १२ वटा सवारी साधन मादक पदार्थ सेवनमा कारबाहीमा परेका छन् । सम्भावित दुर्घटनालाई कम गर्न प्रहरीले चेकजाँचलाई कडाई गरेको हो ।
नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म जरिवाना लिने गरेको प्रहरीले बताएकाे छ । त्यस्तै, यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई सोलुखुम्बु प्रहरीले कारबाही गरी बढी भाडा यात्रुलाई नै फिर्ता गराइएको छ । चाडपर्वको नाममा यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ना १ ज ५५२१ नम्बरको सुमोका चालक सिन्धुपाल्चोक घर भएका २७ वर्षीय विवेक खड्कालाई प्रहरीले कारबाही गरी बढी भाडा समेत फिर्ता गराइएको हो ।
ट्राफिक प्रहरी पोष्ट पत्तालेका सहायक हवल्दार सुदिन अधिकारीकाअनुसार काठमाडाैं–सोलुखुम्बु सुमोको भाडा प्रतिव्याक्ति २ हजार ३ सय ७५ रुपैयाँ भए पनि चालक खड्काले ६ जनालाई प्रतिव्याक्ति ३ हजार रुपैयाँ र दुई जनालाई ३ हजार ५ सय रुपैयाँका दरले भाडा लिएको पाइएको हो । मनाेमानी ढंगले भाडा लिने सवारी चालकलाई नियम अनुसार जरिवाना समेत गराइएको प्रहरीले जनाएको छ ।
चाडपर्वको मौकामा व्यवसायीहरुले यात्रुलाई ठग्ने क्रम बढेकाले चेकचाँचलाई थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजङ शाहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्