Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले


0
Shares

काठमाडौं, असार २ । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ ।

सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ  । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए ।

व्यवस्थापन लिमिटेडका अनुसार सो औँद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् ।

ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ  ।

लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक रु. ३० करोड घाटा हुने गरेको थियो ।

त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित  हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ ।

सो उद्योग विगत एक महिनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको  थियो  । 

तर, उद्योगका लागि  आवश्यक पर्ने चुनढुङगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।

अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमि रहेको बताइएको छ  ।

उद्योगमा विगतमा उत्पादन  गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ ।

सो उद्योगमा ३४२ जना कर्मचारी र मजदूर रहेको भए पनि हाल  ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ । रासस