Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


अधिक औषधि सेवनले हुनुसक्छ मुटुमा समस्या


1.4k
Shares

काठमाडौं । मन लगाउँ, सबैको मुटु बचाउँ भन्ने नाराका साथ नेपालमा विश्व मुटु दिवस मनाइएको छ । जिब्रोको स्वाद छोड्न नसक्दा धेरै स्वास्थ्य समस्या निम्तिनेमा चिकित्सकहरुले सचेत गराएका छन् । खानपिन र जीवनशैलीमा परिवर्तन नआएसम्म एकदिन दिवस मनाएर समस्याको निदान नहुने चिकित्सकहरुको निचोड रहेको छ ।

हरेक वर्ष विश्व मुटु दिवस मनाइरहँदा मुटु रोगीको संख्या भने दिन प्रतिदिन बढ्दै गरेको तथ्यांक छ । विशेषगरि शहरी क्षेत्रमा यो समस्या झन विकराल बन्दै गएको छ । व्यस्त जीवनशैली, अनियमित खानपान, बजारका तयारी खानाको बढ्दो प्रयोग, धुम्रपान, मद्यपान, व्यायामको कमीका साथै अधिक औषधि सेवन गर्नाले विभिन्न खाले मुटु रोगको शिकार हुने मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

त्यसो त तथ्याकले मुटुका रोगी थपिएको देखिएपनि नेपालीको औसत उमेर बढेको स्थितिमा बुढ्यौलीमा मुटु रोग देखिनु स्वाभाविक भएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारी बताउनुहुन्छ । उपचारको पहुँच गाउँ गाउँसम्म पुग्न सकेकाले यो तथ्यांक बढेको देखिएपनि मुत्यदर भने घटेको दाबी चिकित्सकको छ ।

हरेक वर्ष विश्वभर २ करोड मानिसले मुटु सम्बन्धी रोगका कारण ज्यान गुमाउने गरेको तथ्याकं छ । अलि महंगो औषधि, उपकरणका कारण बढी खर्चिलो भएपनि नेपालको एक मात्र मुटुरोग अस्पताल शहिद गंगालाल हृदय रोग केन्दमा लगभग सबै प्रकारका मुटु सबन्धी उपचार हुने गरेको र बाहिरको तुलनामा नागरिकको पहुँचभित्र रहेको दाबी चिकित्सकको छ ।

सरकार सन २०२५ सम्म नसर्ने रोग २५ प्रतिशत कम गर्ने साझा सहमतिमा जुटेका छन् । यसका लागि हरेक व्यक्ति जिम्मेवार हुन जरुरी छ ।