
काठमाडौं, असार २ । नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कार्वाही गरिने बचन दिए ।
कांग्रेस सांसदहरुलाईं प्रधानमन्त्री ओलीले यसमा दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने बताएका हुन् ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका कांग्रेस सांसदहरू खाँण, भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायतले पीसीआर टेष्टको दायरा बढाउनन, क्वारेन्टिन व्यवस्थित गर्न, अस्पतालको व्यवस्थापन मिलाउन, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको अनियमितता छानबिन गर्न माग गरेका थिए ।
सरकारको ध्यान अहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न नसकिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’
लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेकामा चिन्तित ओलीले सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा जोड दिएका थिए । भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार्दै उनले सुधार्ने बचन दिए ।
पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेकामा कांग्रेसले पटक पटक सरकारलाई झक्झकाइरहेको छ । कांग्रेस केन्द्रीय समितिको हालै सम्पन्न बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै स्वदेश तथा विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो ।
कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भएको सरकारले बताएपछि कांग्रेसले उक्त खर्च पारदर्शी गर्न माग गर्दै आएको छ ।
आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेपछि विस्तारै मानिस आउलान् र व्यवस्थित गर्न सकिएला भन्ने सोचेको तर बाढीजसरी एकै पटक मानिस आउँदा समस्या भएको उनले बताए ।
कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । उनले नेपालीमा रोग प्रतिरोधी क्षमता राम्रो भएको दोहोर्याउन भने छाडेनन् ।
प्रतिक्रिया दिनुहोस्