
काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ ।
घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन् ।
सोमबार र मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए । बुधबार पनि एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् ।
ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।
सामान्य अवस्थामा दैनिक १५–२० हजारले उपत्यका छाड्ने भए पनि दशैंको बेलामा भने उपत्यका बाहिरिनेको संख्या ह्वात्तै बढेको कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
भट्टका अनुसार यो संख्या फूलपातीदेखि बढ्छ । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् ।
यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवस्था विभागले सोमबार देखि नै ‘रुट फ्री’ गरेको छ । यस अवधिमा जुनसुकै यात्रुवाहक बस जुनसुकै रुटमा गुड्न पाउनेछन् ।
यसपटक दशैंको बेला झन्डै २० लाखले उपत्यका छाड्ने प्रहरीको आंकलन छ ।
प्रतिक्रिया दिनुहोस्