Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


अमेरिकामा कोरोनाको सबैभन्दा राम्रो परीक्षण भएको राष्ट्रपति ट्रम्पको दाबी, बिडेनमाथि लगातार अपशब्द प्रहार


0
Shares

काठमाडौं, असार २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धेरै मानिसको परीक्षण गरेकाले मात्र अमेरिकामा कोरोना भाइरस संक्रमणका विरामी बढी फेला परेको तर्क दोहोर्याएका छन् ।

कोरोनाबाट संसारमै सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमणका कारण आलोचना खेपिरहेका ट्रम्पले आफ्नो चुनावी भेलामा प्रस्थान गर्नुपूर्व अरु देशको तुलनामा अमेरिकी परीक्षण निकै स्तरीय रहेको पनि दाबी गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अरु कुनै देशको तुलनामा हाम्रो परीक्षण निकै वृहत र स्तरीय छ । धेरै संक्रमित फेला पर्नुले नै यसका लागि हामीले निकै राम्रो काम गरेको पुष्टि हुन्छ । परीक्षण नै नगर्दा वा कमजोर परीक्षण गर्दा त कुनै संक्रमित नै देखिन्न नि । त्यसैले परीक्षण दुई धारे तरबार जस्तै हो । हामीलाई हेर्दा नराम्रो लाग्न सक्छ तर यसले राम्रो गरिरहेको हुन्छ ।’

कोरोना भाइरसबाट अमेरिकामा १ लाख १८ हजार मानिसको मृत्यु हुँदा २१ लाख ८२ हजार जना संक्रमणको चपेटमा आएका छन् ।

कोभिडले ठूलो संख्यामा हताहती कायम रहेकै बेला चुनावी र्याली शुरु गर्न लागेकामा गरिएको आलोचनाप्रति उनी रुष्ट देखिएका छन् । सँधैझै सञ्चारमाथि प्रहार गर्दै ट्रम्प अर्को ट्वीट गर्छन्, ‘वामपन्थी सोचका झूठा मिडियाहरु डेमोक्रेट नेतृत्ववाला शहरहरुमा दंगा र लूटेराहरुले वितण्डा मच्चाउँदा कोभिडको समस्या देख्दैनन् तर हामीले ठूला र्याली गर्दा कोभिडको त्रास देखाउँदैछन् । यस्ता तर्कले काम गर्दैन ।’

उनले जानकारी दिँदै भनेका छन्, ‘ओक्लोहोमाको तुलसामा करीब दश लाख मानिसले शनिबारे रात्रि भेलाका लागि टिकटको अनुरोध गरेका छन् ।’

आफ्ना विपक्षीप्रति सामान्य शिष्टाचारसमेत नदेखाउने पूर्ववत् शैलीमा ट्रम्पले राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बिडेनमाथि प्रहार गर्दै लेख्छन्, ‘बिडेनले काला अमेरिकीहरुसमेतका लागि ४० वर्षमा गर्न नसकेको काम मैले चार वर्षभन्दा कम समयमा सम्पन्न गरेको छु । दशकौंदेखि बिडेन प्रत्येक असफल निर्णयका भागिदार बनेका छन् । जसमा खराब व्यापार सम्झौंता, अन्त्यहीन युद्ध जसले उनमा पूर्णतः नेतृत्व क्षमताको कमी देखाउँछ । बिडेन कमजोर छन् त्यसैले उनलाई रोक्नुपर्छ ।’

यस पटक जस्तो चूप रहनेको अधिक संख्या कहिले नदेखिएको भन्दै उनले शान्त बसेका जनमतप्रति लक्षित गर्दै पटक पटक ट्वीट गर्दै आएका छन् ।