‘ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छ’ « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


‘ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छ’


130
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्नेमा जाेड दिनुभयो ।

उहाँले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताउनु भयो । नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्नेछ । यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो । यो पालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो । धेरै वर्ष अघि एउटा ठूलो आशा लिएर महाकाली सन्धि गरेको थिएँ । यत्तिका वर्ष त्यो थन्कियो । यो पालि त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ । हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ । अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्त रुप दिनेछाैँ । यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन । अब यो मुलुकलाई उज्योलो दिनुपर्छ ।’

उहाँले देशलाई अब राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गर्नुभयो । उहाँले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पार्नुभयो ।