Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब बढीको बजेट


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब बढी रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशसभामा प्रस्तुत बजेटअनुसार ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको बजेट आएको हो ।

जसमा चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात् कुल बजेटको साढे ४२ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख अर्थात् कुल बजेटको ५०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

चालू आव २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याइएको थियो ।

मन्त्री बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सःशर्त विशेष र समपूरकसमेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए ।

चालू आवका लागि सोही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।

सुदूरपश्चिम सरकारले यो वर्ष कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट परेको छ ।

कोरोनाका कारण रोजगारी तथा आयस्रोत गुमाएका प्रदेशबासीलाई रोजगारी दिलाउनेखालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडि सारिएको छ ।

प्रदेश सरकारको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

आगामी वर्ष कोरोनाभाइरसबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै ‘रोगबाट बचाऔं, भोकबाट जोगाऔं’ अभियान सञ्चालन गर्ने जनाइएको छ ।

कोरोनाका कारण फर्किएका लाखौं नेपालीहरुलाई लक्षित गरेर सुदूरपश्चिम सरकारले बजेटमा कृषि र स्वरोजगारलाई प्राथमिकता दिइएको छ ।

प्रदेशमा कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै संक्रमितको उपचारका लागि आवश्यकताका आधारमा थप शय्या व्यवस्थापन गर्दै लैजाने, नौओटै जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, धनगढी, महेन्द्रनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, बैतडी, डोटी र अछाम अस्पतालमा ‘मोलिक्युलर सेटअप’सहितको प्रयोगशाला स्थापना गर्ने, प्रदेशमा एउटा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने, १०० शय्याको सरुवारोग नियन्त्रण अस्पताल र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्नेलगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।