बिराज रोस्यारा (इमेज)
कैलाली, असार १ । सुदूरपश्चिम प्रदेशमा सोमबार ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ६८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
२४ घन्टामा एकैपटक थपिएको यो हालसम्मकै उच्च संख्या हो ।
तीनजना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीनजनामा कोरोना पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३३२ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरका ६६, डडेल्धुराका ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङका १४, दार्चुलाका १२ र बैतडीका २७ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ । २१ जना निको भएर यसअघि नै घर फर्किइसकेका छन् ।






प्रतिक्रिया दिनुहोस्