९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


भरतपुर अस्पतालमा संक्रमितको लागि अलग प्रवेशद्वार


0
Shares

चितवन, असार १ । भरतपुर अस्पतालले सर्वसाधारण र कोरोना सङ्क्रमितको उपचारमा संलग्नहरुलाई आवतजावत गर्न अलग अलग प्रवेशद्वार तयार गरेको छ। 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको “ए” व्लकको भूई तलामा  पछाडिबाट बाटो खोलेर राखिएको छ ।

उनले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको ढोकालाई सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कोरोना सङ्क्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं  कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रवेशद्वारबाट सङ्क्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ ।

सङ्क्रमित रहेका क्षेत्रलाई हरियो जालिले घेरेर थप व्यवस्थित गर्न लागिएको छ । हाल सङ्क्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई  होटलमा क्वारेन्टिन बनाएर राखिएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार सङ्क्रमित मध्ये अहिले २३ चितवन, वर्दघाट सुस्त पूर्वका तीन  र एक जना कपिलवस्तुका  रहेका छन् ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मत सम्भार गर्नुपर्ने भएपछि सङ्क्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ ।

अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा सङ्क्रमित राखिएको हो । उनले ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेशन रहेका छ ।  

सीसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकम लगायतका प्रविधि जडान गरीे सङ्क्रमित अनुगमन गरिन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई  असर नपर्ने बताए ।

यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । उनले सर्वसाधारण जनताको निशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सुचारु गरी कोरोना संक्रमितको समेत उपचार गरिएको बताए ।

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशाला समेत सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमितको उपचार गरी सात जना घर फर्किसकेका छन् । रासस