इलाममा शितभण्डार सञ्चालनमा आएन « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


इलाममा शितभण्डार सञ्चालनमा आएन


52
Shares

इलाम । इलाममा करोडौँ रुपैया खर्च गरेर निर्माण गरिएको शीत भण्डार प्रयोगमा आउन सकेको छैन् । शितभण्डार सञ्चालनमा नआउँदा किसान र व्यवसायी मर्कामा परेका छन् ।

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।

दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा फलफूल र तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता छ ।

इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट वस्तु ल्याउनु नपर्ने व्यवसायी बताउँछन् ।

इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम–९ स्थित सेरामा १० वर्षअघि निर्माण भएको शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित नगदेबाली भण्डारणमा समस्या भएको किसान दूर्योधन खत्रीको बताउनुभयो ।

दुई हजार टन क्षमताको शीत भण्डार प्रयोगविहीन भएपछि किसान समस्यामा परेका हुन् ।

शीत भण्डार निर्माण भएर पनि सञ्चालनमा नआउँदा अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको उनीहरुको गुनासो छ । इलाममा किबीसहित विभिन्न किसिमका फलफूल र तरकारी उत्पादन हुने गरेको छ । शीत भण्डारको रेखदेखका लागि नगरपालिकाले एक जना चौकीदार राखेको छ ।

शित भण्डारलाई प्रयोगमा ल्याउन सम्बन्धित निकायले ध्यान नदिदा किसानका समस्या ज्युकात्यूँ रहेको छ । जडान गरिएका उपकरणमा समेत खिया लागेर बिग्रने अवस्थामा पुगेको छ ।