इलामको पशुपतिनगर दशैंमा पनि सुनसान « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


इलामको पशुपतिनगर दशैंमा पनि सुनसान


1.625k
Shares

इलाम । नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ ।

गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर भने सुनसान देखिएकाे छ । कोरोनाका कारण लकडाउनले थलिएको साेही बजार अझै लयमा फर्किन समेत सकेको छैन् ।

केही वर्ष अघिसम्म नेपाल–भारत सीमानामा पर्ने इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारको रौंनक बिछट्टकै थियो । भारतीय पर्यटकहरूको आवतजावत निकै बाक्लो देख्न सकिन्थ्यो । तर अहिले दशैंको मुखमा समेत पर्यटकको चहलपहल नहुँदा पशुपतिनगरको रौंनक मात्र हराएको छैन् । व्यापार समेत खस्किंदो अवस्थामा पुगेको छ ।

धेरै जसो पसलका सटरहरूमा चाबी लाएको देख्न सकिन्छ भने खुलेका पसलहरूमा पनि ग्राहक नहुँदा व्यापारी निराश देखिन्छन् । कतिपय व्यापारीहरू व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् । भारतीय व्यपारीहरूको किनमेल गर्ने नजिक र सस्तो बजार पशुपतिनगरको अहिले बिचल्ली भएको छ ।

पशुपतिनगर चीनबाट आउने धेरै जसो लत्ताकपडा, फेन्सी, जुत्ता लगायतका सामग्रीहरू खरिद गर्नेहरूको मुख्य बजार समेत थियो । तर अहिले आएर यो बजार सुक्दै जाँदा यसको रौंनकता पनि आफैं हराउँदै गएको स्थानीयको भनाइ छ ।

इलामकै प्रमुख व्यापारीक केन्द्रको रूपमा रहेको पशुपतिनगर बजारको चहलपहल हराउदै जाँदा एकातर्फ व्यवसायीहरू पलायन भइरहेका छन् भने अर्कोतर्फ सरकारले संकलन गर्ने राजस्वमा समेत कमी आएको छ ।