काठमाडौं । हंगेरीलाई हराउँदै इटाली युएफा नेशन्स लिग ‘ए’ फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।
सोमबार राति हंगेरीको बुडापेस्टमा भएको खेलमा भ्रमणकारी टोली इटालीलाई विजयी गराउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ५२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।
जितसँगै इटाली लिग ए ग्रुप ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरी १० अंक जोड्दै दोस्रो स्थानमा रहँदा फाइनल फोरमा पुग्न असफल रह्यो । ७ अंक जोडेको जर्मनी तेस्रो हुँदा ३ अंक मात्रै जोडेको इंग्ल्याण्ड लिग एकबाट रेलीगेशनमा परेको छ ।
सोमबार राति भएको खेलमा इंग्ल्याण्ड र जर्मनीले ३–३ गोलको बराबरी खेलेका छन् । अन्य खेलहरु पछि युएफा नेशन्स लिग फुटबलको फाइनल चरणमा पुग्ने तीन टोलीको टुंगो लागेको छ । समुह विजेताको रुपमा इटाली, क्रोएसिया, र नेदरल्याण्ड्स फाइनल चरणमा पुगेका छन् । फाइनल चरण अर्को वर्षको जुन महिनामा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्