
काठमाडौं, जेठ ३२ । नेपाल सुन चाँदी व्यवसायी महासंघले कोरोना भाइरस महामारीको कारण सुनचाँदी ब्यवसाय पनि आक्रान्त भएको भन्दै यस क्षेत्रमा पनि उचित आर्थिक प्याकेज माग गरेको छ ।
महासंघले आइतबार विज्ञप्ती जारी गर्दै लगभग ६० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको आवश्यकता रहेको जनाएको हो ।
गत बर्षदेखि नै सुनको भाउमा उच्च वृद्धिको कारण उत्पन्न मन्दीले सुनचाँदी ब्यवसाय थिलोथिलो भएको अवस्थामा झन अहिले करिव ३ महिनादेखिको लकडाउनले थप संकटग्रस्त भएको उसको भनाइ छ । व्यवसायीहरुलाई घर बहाल, कर्मचारीहरूको तलब, बैंक किस्ता र ब्याज बुझाउन ठूलो कठिनाइ उत्पन्न भएको महासंघको भनाइ छ ।
कोरोनाकै कारण केही दिन यता सुनको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ । यस्तो परिस्थितिमा फिर्ता बिक्रीको चाप परेमा बजारले थेग्न सक्ने अवस्था नरहने संघको चिन्ता छ ।
यसैले यस्तो परिस्थितिमा आम उपभोक्तालाई केही समय धैर्य धारण गर्न र सरकारले नीतिगत निर्णय गरी सक्दो सहजीकरण गर्न संघले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्