
संखुवासभा, जेठ ३२ । सेभेन समिट ट्रेक्स प्रालिले काठमाडौंमा समस्यामा परेका संखुवासभाका १५ सय बढी घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
लकडाउनका कारण घर फर्कन नसकेका विद्यार्थी, अति विपन्न परिवार, शारिरीक रुपले अशक्त, सुत्केरी, मजदूरहरुलाई दैनिकी गुजारा गर्न समस्या भएपछि उनीहरुलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको हो ।
उनीहरुले जिल्लामा समस्यामा परेका सबै स्थानीय निकायका विपन्न परिवारमासमेत राहत सामग्री पुर्याएका छन् ।
सेभेन समिट ट्रेक्समा आवद्ध एकै घरका चार दाजुभाईले लकडाउनको तीन महिनामा झण्डै ७० लाख रुपैयाबराबरको खाद्यान्नसहितको राहत सामग्री बितरण गरेको ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।
संखुवासभा जिल्ला बाहेक समस्यामा परेका काठमाडौ, भक्तपुर, ललितपुरका ३ सय ६० विपन्न परिवारलाईसमेत उनीहरुले आफ्नै साधन मार्फत घर घरमा खाद्यान्न पुर्याई दिएका हुन् ।
परिवार संख्या हेरेर खाद्यान्नसहित उनीहरुले प्रतिपरिवार घर खर्चसमेत दिने गरेका छन् ।
प्रख्यात आरोहिसमेत रहेका चार दाजुभाई मिङ्मा, दावा, टाँसीलाक्पा र पासाङले पर्यटन मजदूरहरुलाई पनि सहयोग गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्