
काठमाडौं, जेठ ३२ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो ।
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसाय सुचारु गरिने बताए ।
लकडाउनका कारण वैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने उनको भनाई थियो ।
अर्थमन्त्री खतिवडाले बैकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने उनले बताए ।
उनले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको बताए ।
मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्व मात्रै संकलन हुने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्