३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


धनकुटाका माओवादी नेताहरुद्वारा सामूहिक राजीनामा


6.5k
Shares

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामाकाे घोषणा गर्नुभएकाे छ ।

गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामाकाे घाेषणा गर्नुभएकाे हाे।

माओवादीले धनकुटाको प्रतिनिधिसभा सिट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिनु भएकाे हाे । जिल्ला नेताहरुले भण्डारीको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।

बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन् ।