Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदीलाई कोभिड–१९ संक्रमण


0
Shares

कराँची, जेठ ३१ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित भएको शनिबार उनले बताएका छन् ।

क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले भने–‘म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरीरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलार्ई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।’

उनले भने–‘सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।’

सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्च सफल उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझैपनि कायम रहेका छन् ।

अफ्रिदीले कोरोनाभाइरसबाट प्रभावित पाकिस्तानी नागरिकका लागि बस्ती–बस्तीमा पुगी सहयोग गर्दै आएका थिए ।

गत हप्ता उनले ‘एएफपी’सँग कुरा गर्दै भनेका थिए–‘म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुसी छु । मैले सहयोगका लागि समुदायमा जाँदा मास्क लगाउने र निसंक्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिबेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।’

अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् । रासस/एएफपी