
काठमाडौं, जेठ ३१ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गरेको छ ।
प्रतिनिधि सभाले सरकारले अद्यावधिक गरेको नक्शालाई संविधानको अनुसूचीमा रहेको निशान छापमा सम्मिलित गर्न राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेलगत्तै कांग्रेसले राष्ट्रियताको पक्षमा राष्ट्रिय एकता ऐतिहासिक देखिएको उल्लेख गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकाली कांग्रेसले भूमि फिर्ताको दोस्रो चरणको अभियानमा अब गम्भीर कूटनीतिक पहलको अपेक्षा राखेको जनाएका हुन् ।
शर्माले भनेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ ।’
नक्शा पारित भएकामा स्वदेश र विदेशमा रहेका नेपालीलाई बधाई दिँदै कांग्रेसले भनेको छ, ‘कांग्रेस स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा यो घडी हार्दिक बधाई ज्ञापन गर्दछ ।’
नेपाली भूमिमा नेपालकै हक हुनुपर्ने भन्दै शर्माले भनेका छन्, ‘राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यवद्धतापछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ ।’
कांग्रेसले उच्चस्तरीय कूटनीतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न सरकारलाई सुझाउँदै भनेको छ, ‘जब जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पष्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने छ ।’
यसैगरी कांग्रेसका अर्का नेता गगन थापाले अब नेपाली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउनुपर्ने ट्वीट गर्दै भनेका छन्, ‘आज ऐतिहासिक दिन ! सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ । राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ । अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ ।’
प्रतिक्रिया दिनुहोस्