
नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुलेपछि पक्ष विपक्षमा बहस, प्रतिस्पर्धाको समय नभएको अर्थविद्को ठहर
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि ४५ दिने सूचना जारी गरेको छ । दशकौदेखि नयाँ सरकार फेरिदै जाँदा नयाँ स्टक ल्याउन हाल सरकारले बाटो खोलेको हो । यो विषयमा विभिन्न किसिमको छलफल र बहस चलिरहँदा नेपालको अर्थतन्त्रको आकार र लगानीकर्ताको संख्या अन्य देशको तुलनामा सानो भएकाले स्वार्थ अनुरुप ल्याउन खोजिएको टिकाटिप्पणी हुन थालेको छ ।
विवादबीच ल्याउन लागिएको स्टक एक्सचेन्ज सरकारी भनाईअनुसार हालको स्टक एक्सचेन्जको विकासका लागि प्रतिस्पर्धा र लगानीकर्ताको हितको लागि ल्याउन लागिएको हो । नयाँ स्टकको लागि बोर्डले ३ अर्ब रुपैयाँ चुक्तापूँजी, लगानीकर्ताको ३० प्रतिशत शेयर र १५ प्रतिशतसम्म कुनैपनि संस्थाले लगानी गर्न पाउने प्रावधान रहेको छ । तर यो समयमा स्टक एक्सचेन्जबीच प्रतिस्पर्धाको बेला नभएको अर्थविद् डा. चिरन्जीवी नेपाल बताउनुहुन्छ ।
अन्तर्राष्टिय स्तरमा स्टक एक्सचेन्ज मर्ज गर्ने टेण्डर चलिरहेको बेला नेपालको सन्दर्भमा नयाँ स्टक ल्याएर लगानीकर्तालाई सीधै असर पर्ने कतिपयको भनाई छ । त्यसमाथि नयाँ लगानीकर्ता मारमा पर्ने विश्लेषण अर्काथरिको छ । लगानीकर्ता नडुबाउन स्टकलाई प्रविधिकरण गरेर निजी कम्पनी समावेश गराएमा सकारात्मक प्रभाव पर्ने अर्थविद् नेपाल बताउनुहुन्छ ।
हालको स्टक नाफामा गएको र ५३ देखि ५४ लाख लगानीकर्ता डि म्याटमा, १५ लाख लगानीकर्ता अनलाइनमा जोडिसकेका छन् भने दिनमा २१ अर्ब माथिकै कारोबार भएको अवस्थामा नयाँ स्टकमा खर्च गर्नुको साटो भएकैलाई थप प्रविधिमय बनाउन आवश्यक रहेको ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउनुहुन्छ ।
हाल शेयर कारोबार पारदर्शी नभएको, इन्साइडर टेडि भइरहेको अवस्थामा भौतिक र प्राविधिक क्षमतालाई नै जोड दिन आवश्यक छ । विकसित देश अष्ट्रेलिया, सिंगापुर, जापान र अमेरिकालगायतका देशमा स्टक मर्जको प्रक्रिया अगाडि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्