कञ्चनपुर, जेठ ३० । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरमा निर्माण गरेको कोरोना अस्पताल शुक्रबारदेखि सुरु भएको छ ।
प्रदेश सरकारले कञ्चनपुरको महाकाली अस्पतालमा निर्माण गरेको ५० शय्याको कोरोना अस्पतालले शुक्रबारबाट सेवा सुरु गरेको हो ।
कोरोना अस्पतालको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकाले यस्ता अस्पतालले संक्रमितको उपचारमा सहयोग पुग्ने बताए ।
उनले धेरै ठाउँमा संक्रमित व्यक्तिलाई अमानवीय व्यवहार भइरहेको भन्ने गुनासो आएको बताउँदै संक्रमितको उच्च मनोबलका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
महाकाली अस्पतालमा हाल ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने दुई शंकास्पद व्यक्तिलाई ‘आइसोलेसन’मा भर्ना गरेर उपचार भइरहेको छ ।
थप ३५ जनालाई उपचार गर्न सकिने गरी प्रि–आइसोलेसन वार्डकोसमेत व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
कोरोनाभाइरस संक्रमणका बिरामीको उपचारका लागि प्रदेश सरकारको ९२ लाखको लागतमा ५० शय्याको प्रि–फ्याब प्रविधिको भवनको निर्माण गरेको हो ।





प्रतिक्रिया दिनुहोस्