बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अबको तीन दिनभित्र सुदूरपश्चिम प्रदेशमा थप तीनओटा ‘पीसीआर’ मेसिन आउने बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
संघीय सरकारका मन्त्री भट्ट सुदूरपश्चिममा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न बिहीबार धनगढी आइपुगेका हुन् ।
उनले दुईओटा पहाडी जिल्ला र एउटा कञ्चनपुरका लागि पीसीआर मेसिन ल्याइने बताए ।
सुदूरपश्चिममा कोरोना परीक्षण, उपचारलगायतलाई अझै प्रभावकारी र सहज बनाउने उद्देश्यसाथ एक सरोकारवालाको टोलीसहित मन्त्री भट्ट धनगढी आएका हुन् ।
उनले प्रदेशमा कोरोनाको असर कम गर्न तथा भारतलगायतका मुलुकबाट फर्किएका नागरिकहरुलाई उद्यमशिलता र नेपालमै श्रमका लागि सम्भाव्यताबारे पनि प्रदेशका सरोकारवाला निकायसित छलफल गरिने जानकारी गराए ।
मन्त्री भट्टको नेतृत्वमा उद्योगसचिव चन्द्रकुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टसहित मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको ‘युएनडीपी’का प्रतिनिधिहरूलगायतको टोली धनगढी आएको छ ।
टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टाको अनुगमन गरेको र विभिन्न ठाउँमा रहेका ‘क्वारेन्टिन, हरैया औद्योगिक क्षेत्रलगायतका ठाउँहरुको अनुगमन गर्ने मन्त्री भट्टका स्वकीयसचिव हितेश ओझाले जानकारी दिए ।
मन्त्रीको भ्रमण टोली बिहीबार नै यती एअरलाइन्सको चार्टर्ड विमानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको स्वकीयसचिव ओझाले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्