२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


यसरी ल्याइदैछ विदेशबाट उद्धार गरेर नागरिकलाई(उडान तालिकासहित)


0
Shares

काठमाडौं, जेठ २९ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले धमाधम उद्धार गरेर स्वदेश ल्याउन थालेको छ ।

विदेशमा रहेका नेपालीलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजले उद्धार गर्ने व्यवस्था मिलाइएको छ । नेपाल एयरलाइन्सका वाइड र न्यारोबडी दुबै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज उद्धारमा परिचालित गरिएको छ ।

बिहीबार कुवेतले करिब ३ सय महिला श्रमिकलाई नेपाल ल्याउँदैछ । आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्नेछन् । अरु विदेशी उडान २४ वटासम्म गरिनेछ । यी उडानबाट करिब ११–१२ हजार नेपाली आइपुग्ने अनुमान मन्त्रालयको छ ।

यस्तो छ उडान तालिका

बंगलादेशको ढाकाबाट जुन १४ मा विदेशी दुई विमानले दुई वटा फ्लाइट गर्नेछन् ।

जुन १५ मा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीलाई ल्याउने छ ।

जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीलाई स्वदेश ल्याउने छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले जनाएको छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छ ।

यस्तै जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरियाबाट हिमालय एयरलाइन्सले उडान गर्ने छ ।

२० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छ । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपाली ल्याउने छ । २० जुनमै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

२१ जुनमा दक्षिण कोरिया र मस्कट (ओमान)बाट नेपाल एयरलाइन्स तथा कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले उडान गर्नेछ ।

२२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ । २४ जुनमा नेपाल एयरलाइन्स मात्र साउदी र कुवेतका नेपाललाई ल्याउने छ ।

२५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस/इजरायलबाट उडान गर्ने छ ।

उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने मन्त्रालयले प्रष्ट गरेको छ । यात्रुले भने पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।