
एजेन्सी, जेठ २९ । जर्ज फ्लोइडका भाइ फिलिनाइस फ्लोइडले रंगका आधारमा आफ्नो दाईलाई जस्तो अब अरु कसैलाई पनि नमारियोस् भन्दै याचना गरेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा भएको सुनुवाईमा फिलिनाइसले आफ्नो दाइको मृत्यु जस्तै अब अरुहरुको छालाकै रंगको कारण मृत्य नहोस् भन्ने सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
संसदको न्याय समितिमा भएको सुनुवाईमा प्रहरी बरबरता अन्त्य गर्न तथा ‘पीडा’ अन्त्य गर्न आग्रह गर्दै उनले सांसदहरुसँग भने, ‘यो देश र विश्वले खोजेको नेता बन्नुहोस् । मेरो दाईको नाम ज्यादतीबाट मारिनेको सूचिमा थपिएको अर्को नाम मात्रै नबनोस् । पीडा अन्त्य होस् ।’
समितिसमक्ष भावविह्वल हुँदै फिलिनाइसले भने, ‘म यहाँ तपाईंहरुसँग पीडा अन्त्य गर्नुस् भन्ने आग्रह लिएर आएको छु । बन्द गरिदिनुस् पीडाहरु । जर्जले सहयोगका लागि गुहार लगाए तर उनको गुहार सुनिएन । कृपया गुहार सुनिदिनुस् । हाम्रो परिवारको गुहार र सडकमा गुञ्जिरहे गुहार सुनिदिनुस् ।’
उनले भने, ‘उनका सन्तानले त्यो भिडियो हेर्ने छन् । त्यो साह्रै पीडादायक छ । मानिसलाई त्यस्तो गरिँदैन । उनको जीवनको पनि त अर्थ छ । अश्वेतहरुको जीवनको पनि त अर्थ छ ।’
प्रहरी ज्यादती अन्त्यका लागि प्रहरी प्रशासनमा सुधारको विशेष व्यवस्था ल्याउन उनले सांसदहरुसँग आग्रह पनि गरे । न्याय समितिले प्रहरी ज्यादती अन्त्य तथा रंगभेद विरोधी कानून सम्बन्धी विधेयक तल्लो सदनमा जुलाई ४ सम्म पेश गर्ने तयारी गरेको छ ।
गत मे २५ मा उनका दाई जर्ज फ्लोइडलाई एक श्वेत प्रहरीले सडकमै लडाएर घाँटीमा घुँडाले थिच्दा उनी मारिएका थिए । मिनेशोटा राज्यको मिनियापोलसमा श्वेत प्रहरी अधिकारी डेरेक चुभनले फ्लोइडलाई ९ मिनेटसम्म घुँडाले थिँच्दा उनले आफूलाई श्वास फेर्न गाह्रो परेको भन्दै छाडिदिन याचना गर्दागर्दै प्राण त्याग्नु परेको थियो ।
फ्लोइड मारिएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध व्यापक प्रदर्शन हुँदै आएको छ । रंगभेद विरोधी आन्दोलन अमेरिकाको सीमा नाघेर विश्वका विभिन्न देश र प्रमुख शहरहरुमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्