चलचित्र महापुरुषको ‘बेमौसमी’ बाेलको गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


चलचित्र महापुरुषको ‘बेमौसमी’ बाेलको गीत सार्वजनिक


715
Shares

काठमाडौं । नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलबारर काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धारलाई जोडेर चलचित्र निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, निर्देशक प्रदीप भट्टराईले समाजको गम्भीर विषयवस्तुलाई उठाएर चलचित्र निर्माण गरिएको बताउनुभयो । उहाँले समाजमा वर्षौंदेखि जरो गाडेर बसेको मान्यताहरूलाई चलचित्रले भत्काउने प्रयास गरेको बताउनुभयो । गीतमा भने पिता र पुत्रको एकैपटक परेको प्रेमलाई देखाइएको र बाँकी कथा चलचित्रले भन्ने बताउनुभयो ।

साथै कलाकार राजाराम पौडेलले आफूले पनि बरिष्ठ कलाकारहरूसँग र नयाँ कलाकारसँग मिलेर काम गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

भाईटीकाको भोलिपल्ट देशभर प्रदर्शन हुन लागेको चलचित्र महापुरुषको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु बिष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेल, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, अर्जुन आचार्य, सुमन रिमाल, सुमन बास्तोला, माधव अधिकारी, प्रकाश भट्टराई, घनु जोशी, प्रेम पाण्डे, सम्यकसिंह बानियाँ, भिभियाना थपलिया, जगदीश अधिकारी, जेबी रुवाली, प्रज्ज्वोल लुईंटेललगायतका कलाकारको अभिनय रहेको छ ।