इमेज जिल्ला ब्यूरो ।
काठमाडौं, जेठ २८ । देशका ७७ जिल्लामध्ये अहिलेसम्म पाँचवटा जिल्लामात्रै कोरोनामुक्त रहेका छन् ।
तीनवटा हिमाली र दुईवटा उच्च पहाडी जिल्लाबाहेक अन्य जिल्ला भने कोरोनाको कहरले पिरोलिएका छन् ।
यतिबेला नेपालका ७२ वटा जिल्ला कोरोना महामारीसँग जुधिरहेका छन् । बाँकी पाँचवटा भने जिल्लाभित्र कोरोनालाई प्रवेश निषेध गर्न अहोरात्र लागिपरेका छन् ।
७७ जिल्लामध्ये ७२ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ भने पाँचवटा भने कोरोनाबाट मुक्त छन् ।
पहाडी जिल्ला इलाम, संखुवासभा, तेह्रथुम, सोलुखुम्बुमा फाट्टफुट्ट एक/दुईजनामा संक्रमण देखिन थालेको छ ।
तर, ताप्लेजुङ, ओखलढुंगा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँचवटा जिल्ला कोरोनाको यो मध्य समयसम्म चोखै छन् ।
वाग्मती प्रदेशअन्तर्गत् पर्ने रसुवा जिल्ला चीनसँगको सिमानासँग जोडिएको छ । तरपनि यस जिल्लाले अहिलेसम्म कोरोनालाई निषेध गरेको छ ।
चीनको वुहानमा कोरोनाभाइरस सुरु हुनासाथ रसुवागढीको मितेरी पुलबाट आवत–जावतमा रोक लगाइएको थियो ।
नुवाकोटबाट रसुवा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बल खटाइ कडाइ गरिएको थियो भने स्थानीय बासिन्दा सचेत भएका कारण पनि जिल्ला सुरक्षित रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको भनाइ छ ।
यता, प्रदेश नम्बर–१ को ताप्लेजुङलेसमेत कोरोनालाई जिल्लाबाट टाढै राखेको छ ।
सँगैका छिमेकी जिल्ला कोरोनाको महामारीको चपेटामा परिरहँदा यता ताप्लेजुङबासी भने कृषिको काममा लागेका छन् । सबैजना रोपाइँमा रौसिएको देखिन्छ ।
प्रदेश नम्बर–१ कै ओखलढुंगालेसमेत जिल्लाभित्र कोरोनालाई प्रवेश गर्न दिएको छैन । जिल्ला प्रवेश गर्ने मुख्य नाका–नाकामा कडाइ गरेर अहिलेसम्म ओखलढुंगालेसमेत कोरोनाबाट जिल्लाबासीलाई मुक्त नै राखेको छ ।
अर्कोतिर गण्डकी प्रदेशअन्तर्गतको जिल्ला मनाङ र मुस्ताङलाई कोरोनाबाट हाइसन्चो छ ।
हिमाली जिल्ला मनाङ र मुस्ताङका बासिन्दाहरुसमेत कोरोना संक्रमणबाट चोखै छन् । पाँचवटै जिल्लामा क्वारेन्टिन त बनेका छन् । तर, मनाङ र मुस्ताङका क्वारेन्टिन प्रायः खाली नै छन् ।
त्यसो त कोरोनाको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । देशैभर कोरोनाको संक्रमणलाई रोक्न र फैलिन नदिन प्रयासहरु भइरहेका छन् ।
तर, यी पाँच जिल्लाले अहिलेसम्म कोरोना संक्रमणमा देखाएको सावधानी भने अनुकरणीय नै देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्