Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कर्णाली कोरोना कहरबाट पीडित, ‘क्वारेन्टिन’ व्यवस्थापन, परीक्षणमा सकस


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, जेठ २८ । जेठको पहिलो सातासम्म ‘ग्रीन जोन’मा रहेको कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

कामका लागि भारत गएका नागरिकसँगै भित्रिएको कोरोना, प्रदेश सरकारलाई ‘क्वारेन्टिन’ व्यवस्थापनदेखि परीक्षण र उपचारसम्म सकस भएको छ ।

जेठ ५ गते दैलेखका एक व्यक्तिमा संक्रमण देखिएपछि कर्णाली एकाएक तरंगित भयो । त्यसयता ६५१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भारतबाट आएका नागरिकसँगै भित्रिएको कोरोनाले कर्णालीका नौ जिल्लामा संक्रमण देखिएको छ भने दैलेख, सल्यान र सुर्खेतमा संक्रमितको संख्या अत्यधिक रहेको छ ।

कामका लागि भारत गएकामध्ये दैलेखका १२ हजार २१० जना, सुर्खेतका १० हजार ३५८ जना, कालिकोटका चार हजार ४४३ जना, जाजरकोटका तीन हजार १३५ जना, सल्यानका दुई हजार ८९१ जना, मुगुका एक हजार २४० जना, रुकुम पश्चिमका एक हजार २३ जना, जुम्लाका ९७५ जना, हुम्लाका १९८ जना गरी ३६ हजारभन्दा बढी नागरिक भित्रिएका छन् ।

प्रदेशका विभिन्न ३५८ क्वारेन्टिनमा ३१ हजार ९५२ जना रहेका छन् ।

दैनिक दर्जनौं नयाँ संक्रमित थपिँदै गएपछि एकातिर उनीहरूको उपचारमा चुनौती देखिएको छ भने अर्कोतिर दुई साताभन्दा बढी समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेकाहरू धमाधम घर जान थालेका छन् ।

कर्णालीका १० जिल्लाको परीक्षण भार सुर्खेत र जुम्लास्थित प्रयोगशालाले थेग्न नसकेपछि परीक्षणमा ढिलाइ भएको छ ।

१० हजार ८३६ जनाको परीक्षणमा डोल्पामा एकजना, हुम्लामा एकजना, मुगुमा दुईजना, जाजरकोटमा पाँचजना, जुम्लामा २२ जना, कालिकोटमा २८ जना, सुर्खेतमा ९२ जना, सल्यानमा १२४ जना, दैलेखमा ३६१ जना र अन्य प्रदेशका १५ जनामा संक्रमण देखिएको छ । रुकुम पश्चिममा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

मेसिनले चाप थेक्न नसक्दा स्वाब दिएको १० दिनभन्दा लामो समयमा पनि रिपोर्ट आउन सकेको छैन । जसका कारण कतिपय स्थानीय पालिकाले ‘र्‍यापिड टेस्ट’ विधिबाट परीक्षण गरी घर पठाएका छन् ।

प्रदेशमा अझै १५ सय स्वाब परीक्षण गर्न बाँकी रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक हजार २०० र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०० जनाको स्वाब परीक्षण गर्न बाँकी रहेका छन् ।

प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सुर्खेत, सल्यान, जाजरकोट, दैलेखलगायतका जिल्लाका स्वाब परीक्षण हुन बाँकी रहेको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बताए ।

उनले एक दिनमा २०० भन्दा बढी स्वाब परीक्षण गर्न नसकिने बताए ।

संक्रमितलाई ‘आइसोलेसन’मा चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ । कतिपय जिल्लामा आइसोलेसनभन्दा संक्रमितको संख्या धेरै भइसकेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशका १० जिल्लामा ९०३ वटा आइसोलेसन रहेका छन् । सबैभन्दा बढी संक्रमित देखिएको दैलेखमा ११३ वटा आइसोलेसन बेड छन् भने ४० वटा आइसीयु र १७ वटा भेन्टिलेटर रहेका छन् ।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिममा १२४ वटा छन् भने सबैभन्दा कम जाजरकोटमा १२ वटा आइसोलेसन बेड रहेका छन् ।

कर्णाली प्रदेशका सुर्खेतमा सातजना र दैलेखमा चारजनाले कोरोना जितेका छन् ।

कोरोनाका कारण सुर्खेतमा एक, दैलेखमा एक र डोल्पामा एक गरी तीनजनाको मृत्यु भएको छ ।

भिडियो हेर्नुहोस्