२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


प्रधानमन्त्री ओलीले यसरी गरे राष्ट्रपतिको बचाउ


13
Shares

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोधको नाममा गणतन्त्रमाथि नै प्रहार भइरहेको दावी गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन पुगेका ओलीले राष्ट्रपतिको नाममा गरिएको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको तर्क गरेका हुन् ।

मुलुक कोरोनाको कहरमा रहेका बेला राष्ट्रपतिले करोडौंको गलैंचा फेर्न लागिएको खबर सार्वजनिक भएपछि जनस्तरमा यसको व्यापक विरोध भइरहेको छ ।

यसै सन्दर्भलाई कोट्याउँदै सञ्चारमाध्यमको विरोध र राष्ट्रपतिको बचाउ गर्दै संसदमा उनले भने, ‘सिधै गणतन्त्रको विरोध गर्न नसकेर घुमाएर राष्ट्रपतिमाथि लाक्षित गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीको निवासमा कार्पेट कस्ले ल्यायो, कुन सामान कस्ले ल्यायो भन्ने प्रधानमन्त्रीलाई राष्ट्रपतिलाई कसरी थाहा हुन्छ ?’

‘जेमा पनि राष्ट्रपतिको विरोध गर्ने । माखो बजाउने काम भएको छ । राष्ट्रपतिलाई एउटा दलगत रुपमा हेर्ने कुरा उचित होइन । हामीले निष्पक्ष र राष्ट्रप्रमुखको रुपमा सम्मानित संस्थाको रुपमा केही खास अधिकार मात्र रहेको राष्ट्रपति राखेको हो । राष्ट्रपतिले जवाफ पनि दिँदैन ।’ उनले थपे, ‘लगातार अनवरत हरेक ससाना निहुँमा आक्रमण भइरहेको छ । यो गणतन्त्रकोविरुद्धको साजिस हो । गणतन्त्रलाई कमजोर बनाउन खोजिएको छ । राष्ट्रपति चुपो लागेर बसेकै छन् । त्योभन्दा बढी के गर्ने ?’

अलिक आक्रोशित देखिएका प्रधानमन्त्री ओलीले भने, ‘दूबो काटेर चिटिक्क पार राष्ट्रपतिले भनेको हो र ? यो खालको विरोधको शैली वास्तवमा लोकतान्त्रिक र गणतान्त्रिक पनि भएन । यो गणतन्त्रकै विरोधमा लक्षित हो । नबहकिऔं । मर्यादित ढंगले पेश होऔं ।’