२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


गृहको जिम्मेवारी सेनामा सारिएको होइन, सरकारका सबै अंग परिचालन गरिएको मात्र होः प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा सेनाको संलग्नताको बचाउ गर्दै गृहको भूमिका कमजोर नपारिएको जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाली सेना सरकारको एक अंग, निकाय/विभाग भएकाले विपदका बेला सबै संयन्त्र परिचालन गर्ने निर्णय अन्तर्गत सेनालाई पनि जिम्मेवारी दिइएको बताए ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएर उक्त संस्थालाई पनि भ्रष्टाचारमा मुछ्न खोजेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले भने, ‘अहिले मात्रै होइन सेनाले यसअघि धेरै चिज किनेको छ । बिस्कुट किनेको छ, कपडा किनेको छ, त्यतिबेला भ्रष्टाचार भएन । अहिले आफूलाई चाहिने कुरा छिटो छरितो रुपमा किन्दा भ्रष्टाचार भयो भन्ने ?’

‘सेनाले अस्पताल चलाउन पाउँछ कि पाउँदैन? अहिले सेनाले आफूलाई चाहिने सामग्री किन्दा आपत्ति हुनुपर्ने होइन,’ भन्दै उनले थपे, ‘सेनालाई नेपालभन्दा बाहिरको भनेर व्यवहार गर्नु आवश्यक छैन । सुरक्षाका लागि सबै संयन्त्र परिचालन हुन्छ ।’

सेनालाई जिम्मेवारी दिँदा गृह मन्त्रालयको जिम्मेवारी खोसियो भन्नुको कुनै अर्थ नरहेको भन्दै उनले भने, ‘अहिले सेनालाई जिम्मेवारी दिएको हो । गृहको जिम्मेवारी सेनालाई सारिएको छैन, भ्रममा नपरौँ ।’

उनले संसदमा भने, ‘कोभिडविरुद्धको लडाईं विशेष भएकाले कतिपय व्यवस्था पनि विशेष ढंगबाट गरिएको हो । विशेष परिस्थितका लागि बनेका उच्चस्तरीय समिति र सिसिएमसी बनाइएको हो । सेना मात्र परिचालन गरिएको होइन । संगठित, अनुशासित संस्था भएकाले कठिन परिस्थिति अफ्ठ्यारामा परिचालित गर्ने गरेकाले गरेको हो ।’

विशाल ग्रुप नचिनेको भन्दै उनले भने, ‘कहिले ओम्नीको चर्चा कहिले कुन । जथाभावी मुख छाड्ने हो भने त हो कहिले के भनेर बोलेको छ । कहिले ओम्नीसँग कहिले विशालसँग जोडेको छ । तथ्यपूर्ण रुपमा सांसदले उठाऔं । कुनै अनियमितता भएमा छानबिन गर्छु । मेरो ध्यान गएको छ । अनियमित बेठीक, भ्रष्ट कुरा सह्य हुन्न ।’