Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन आयोगकाे निर्देशन


52
Shares

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको हो।

संसदीय समितिको निर्देशन अनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन पत्राचार गरेको आयोगका प्रवक्ता गोकर्णमणि दुवाडीले जानकारी दिनुभयाे।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार गरेको थियो।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर समितिले आयोगलाई पठाएपछि आयोगले पनि दलहरूलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउन निर्देशन दिएकाे प्रवक्ता दुवाडीले बताउनु भयाे ।

‘संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र छन् भने प्रदेशसभामा ३ सय ३० क्षेत्र छन्। आयोगको निर्देशन अनुसार दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ भने प्रदेशसभामा १ सय १० जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ।