२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


संविधान संशोधन विधेयकमा संशोधन राख्न ७२ घण्टाको समय, सरकारले ल्याएको प्रस्ताव सर्वसम्मत स्वीकृत


0
Shares

काठमाडौं, जेठ २७ । संविधान संशोधन विधेयकमा सांसदहरुले संशोधन दर्ता गराउन ७२ घण्टे समय पाएका छन् ।

मंगलबार साँझ प्रतिनिधिसभाले ‘संविधान संशोधन प्रस्ताव विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतिले पारित गरेसँगै सांसदहरुले संशोधन दर्ता गराउन समय पाएका हुन् ।

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा प्रयोग भएको नेपालको नक्शामा लिम्पियाधुरा, कुटी, गुञ्जीसहितका भूभाग समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

छलफलमा भाग लिने सबै दलका सांसदले संशोधन प्रस्तावको समर्थन गरेका थिए । नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउने महत्वपूर्ण अवसर भन्दै प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले पनि संशोधन विधेयकको समर्थन गरेका हुन् ।

संशोधन प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जेठ ७ गते सार्वजनिक गरेको थियो । निशान छापमा प्रयोग भएको देशको नक्शा नै त्रुटीपूर्ण रहेपछि सरकारले गत जेठ १८ गते प्रतिनिधि सभामा संविधानको दोश्रो संशोधन विधेयक पेश गरेको थियो ।