
काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धिको पक्षमा मतदान गरेर गरेको गल्ती सच्याउन सुझाएका छन् ।
संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै गिरिले आफूले समेत महाकाली पक्षमा तत्कालीन संसदमा उभिएर गल्ती गरेको बताए ।
कांग्रेसले संशोधन विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको जानकारी दिँदै उनले संसदमा भने, ‘कुनै समय प्रधानमन्त्री ओली र मैंले महाकाली सन्धिको पक्षमा बोलेका थियौं । त्यहाँ सिपी मैनालीले सीमा ठीक छैन भन्नुभएको थियो । हामीले गल्ती गरेका थियौं । प्रधानमन्त्रीज्यू उक्त गल्ती सच्याउँ ।’
भारतबाट अतिक्रमित भूमी फिर्ता ल्याउन प्रधानमन्त्री ओलीले आवश्यक तयारी नगरेको आरोप लगाउँदै गिरिने भने, ‘प्रधानमन्त्री उखान टुक्कामा महारथी हुनुहुन्छ । तर उहाँलाई स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ । उहाँले विपक्षी दलका नेता, आफ्नै पार्टीभित्र, मधेसी दलका साथीहरुसँग छलफल गर्नुभएको छैन । दिल्लीसँग कुरा गर्न भ्याउनु भो होला र ? यो कुनै गृहकार्य बिना गरिएको चर्चा हो ।’
उनले लिम्पियाधुरासहितको भूभाग फिर्ता ल्याउने विषयलाई पपुलिष्ट एजेण्डा नबनाउन सचेत गराउँदै मधेस केन्द्रित दलले उठाएको संविधान संशोधनको विषयलाई ध्यान दिन आग्रह गरे । गिरिले भने, ‘दलित, जनजाति, मधेसी, बेरोजगारका कुरा पनि सुन्नुहोस् । गृह नीतिको सफलताविना विदेश नीति सफल हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्