Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति


0
Shares

काठमाडौं, भदौ ४ । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापीरुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् ।

स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भएपनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उनीहरुको गुनासो थियो ।

करका विषयमा देशव्यापीरुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पस्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे ।

जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमासमेत कर लगाएर संघीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराए ।

यसरी ध्यानाकर्षण गराउनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायत थिए ।

सांसद गगन थापाले ‘विकासको रोमान्चक यात्रा विनाशमा गएर नटुंगियोस्’ भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरे ।

सांसद आशाकुमारी विक र कृष्णभक्त पोखरेलले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस