Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान, कुनै कसर बाँकी राख्दैनौं : कप्तान पारस


0
Shares

कुमार चौलागाइँ (रासस) 

काठमाडौं, भदौ ४ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ ।

नेपाली टोलीले श्रीलंकामा रहँदा त्यहाँका तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्नेछ ।

नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलंकाको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ ।

दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्नेछ ।

अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।

नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित सोमबारै बिदाइ गरे ।

उनले प्रतियोगितामा विजयी बन्दै एसिया कप खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

सभामुख महराले केही समयअघि एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले आफू अत्यन्त खुसी भएको बताउँदै नेदरल्यान्ड्ससँगको खेलजस्तै मलेसियामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो समय वर्षाका कारण प्रशिक्षणमा केही समस्या भएपनि श्रीलंकामा हुने अभ्यास खेलले नेपालको प्रदर्शनमा सुधार हुने बताए ।

प्रतियोगितामा सहभागी हुने सबै टोली उत्कृष्ट रहेको बताउँदै उनले नेपालको लक्ष्य एसिया कपका लागि छनोट हुने रहेको प्रतिक्रिया दिए ।

कप्तान पारस खड्काले प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताए ।

‘एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि प्रतियोगिता जित्नुपर्ने दबाब छ । हाम्रो लक्ष्य पनि प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग खेल्ने नै हो’–कप्तान खड्काले भने ।

छोटो समय भएपनि नयाँ ब्याटिङ प्रशिक्षकबाट नयाँ प्राविधिक कुरा सिक्ने मौका पाएको बताउँदै कप्तान खड्काले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्नसके प्रतियोगिता जितिने बताए ।

एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, सिंगापुर र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएईसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । उक्त प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ ।

छनोटको विजेताले एसिया कपको समूह ‘ए’मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ ।

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् ।

वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग खेलिरहेका सन्दीप लामिछाने भने अभ्यास खेलमा सहभागी हुनेछैनन् । उनी वेस्ट इन्डिजबाट प्रतियोगिता खेल्न सीधै मलेसिया आउनेछन् ।