
काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निशान छाप परिवर्तनका लागि गर्न लागिएको संविधान संशोधनका पक्षमा आफूहरू रहेको प्रष्ट गरेको छ ।
प्रतिनिधि सभामा संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान संशोधनमा कांग्रेसको दृढ समर्थन रहेको बताएका हुन् ।
हालै कांग्रेस केन्द्रीय कार्यसमितिले संशोधनका पक्षमा समर्थन गर्न संस्थागत निर्णय गरेको जानकारी दिँदै खाँणले संशोधनमा साथ रहने आश्वासन सरकारलाई दिए ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको अद्यावधिक नक्शा संविधानको निशान छापमा राख्न सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ । प्रमुख सचेतक खाँणले सुगौली सन्धीअनुसार काली नदी पूर्व नेपालको भूमि रहेको पनि बताए ।
संविधानको धारा ९ उपधारा २ सँग सम्बन्धित अनुसूची ३ लाई संशोधन गर्ने विधेयकका पक्षमा आफूहरू रहेको भन्दै उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा ५ मे २०१५ मा भारत–चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका बनाउन गरेको सम्झौतापछि असहमति प्रकट गरेर दुबै देशलाई नोट पठाइएको स्मरण पनि गराए ।
प्रतिक्रिया दिनुहोस्