Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


अध्यक्ष दाहालद्वारा टेबलटेनिस टोलीको बिदाइ


0
Shares

काठमाडौं, भदौ ४ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन जाने टेबलटेनिस टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहालसँग बिदाइ भेट गरेको छ ।

टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबलटेनिस खेलबाट एसियामा देशको नाम राख्न शुभकामना दिए ।

आफूलाई पनि टेबलटेनिस खेल मनपर्ने बताउँदै उनले भने–‘राम्रो खेल प्रदर्शन गर्नोस् । मेरो तर्फबाट जितको शुभकामना छ ।’

सो अवसरमा अध्यक्ष दाहालले टेबलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टोली व्यवस्थापक सुदिल शाहीले अध्यक्ष दाहालसँगको भेटपश्चात् खेलाडीमा थप ऊर्जा र हौसला बढेको बताए ।

अध्यक्ष दाहालले आफू पनि टेबलटेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको व्यवस्थापक शाहीले बताए ।

सो खेलमा अनिल घिमिरे र सन्जीव ढुंगेल प्रशिक्षकद्वयका साथ खेलाडी नवीना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल र दीप सावन सहभागी हुँदैछन् ।

शनिबारदेखि सुरु भएको एसियाली खेलकुदमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् । रासस