काठमाडौं, जेठ २७ । भारतका पूर्व विदेशमन्त्री यशवत सिन्हाले २०७२ सालको जस्तो परिस्थिति कुनै हालतमा दोहोरिन दिन नहुने भन्दै नेपालसँग तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।
अंग्रेजी दैनिक दि हिन्दूमा प्रकाशित टिप्पणीमा सिन्हाले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधि अन्त्यका लागि रचनात्मक संवाद थाल्न सरकारलाई आग्रह गरेका हुन् ।
सहज र असहज अवस्थामा भारत र नेपाल साथसाथै रहनुपर्छ, कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः प्रारम्भ हुनुपर्छ सिन्हा र नीति विश्लेषक एवं स्तम्भकार अतुल ठाकुरले संयुक्तरुपमा भनेका छन् ।
नयाँदिल्ली र काठमाडौँस्थित दुबै देशका राजदूतावासलाई स्वतन्त्रपूर्वक कार्यसम्पादन गर्न दिन माग गर्दै उनीहरुले २०७२ सालको जस्तो परिस्थिति कुनै पनि हालतमा दोहोरिन दिन नहुने उल्लेख गरेका छन् ।
‘कोभिड–१९ को संकट भनेर भारत वार्ताबाट पन्छिन मिल्दैन, विदेश मन्त्रालयको पछिल्लो वक्तव्य व्यवहारमा रुपान्तरण हुनुपर्छ, रचनात्मक वार्ताको माध्यमबाट विश्वास र भरोसालाई पुनःस्थापना गर्नैपर्छ’, सिन्हाले भनेका छन् ।
महामारीको समय छिमेकसँग शत्रुतापूर्ण व्यवहार गर्ने बेला नभएको, वर्तमान समयमा दक्षिण एशियामा सुदृढ क्षेत्रीय र उपक्षेत्रीय सहयोगलाई गति दिने नेतृत्व भारतले गर्नुपर्ने सुझाव दुई जनाको छ ।
भारतको स्वतन्त्रता संग्राममा समेत नेपालीको योगदान रहेको टिप्पणी गर्दै भनिएको छ, ‘भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कूटनीतिभन्दा धेरै महत्वपूर्ण छ, सभ्यताकालदेखिको साझा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण दुबै राष्ट्रबीचको अन्योन्याश्रित सम्बन्ध सरकारबीचको मात्र होइन, भारतलाई सुरक्षित राख्ने युद्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपाली बिना अपूर्ण हुन्छ, त्यसैले पारस्परिक द्वन्द्वको कुनै स्थान छैन, भारतको स्वतन्त्रता संग्राममा पनि नेपाली जनता लडेका थिए ।’








प्रतिक्रिया दिनुहोस्