२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


प्रधानमन्त्रीज्यू दश अर्ब कहाँ गयो ? एकेकको हिसाब चाहियोः कांग्रेस नेता गगन थापा


0
Shares

काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग कोरोना भाइरस रोकथामका नाममा खर्च गरिएको भनिएको दश अर्बको हिसाब मागेको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै पनि सरकार महामारी नियन्त्रणमा असफल भएको कांग्रेसले आरोप लगाएको हो ।
मंगलबार संसद बैठकमा कांग्रेस नेता गगन थापाले सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित हुनेको संख्या बढेको आरोप लगाएका हुन् । उनले दश अर्ब कहाँ खर्च भएको जवाफ दिन प्रधानमन्त्रीसँग माग गरे ।

संसदमा थापाले भने, ‘दश अर्ब कहाँ खर्च भयो ? हामीलाई जवाफ चाहिन्छ । पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन ? एकेक हिसाब चाहिन्छ । सरकारलाई अब सुतेर बस्न दिँदैनौं ।’

भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टिनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्दै थापाले संसदमा प्रश्न उठाए, ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ ?’

माघ २१ गतेदेखि सरकारलाई सदनले गराएको ध्यानाकर्षण निरर्थक बनेको भन्दै उनले यो सबै प्रधानमन्त्रीको अहंकारको परिणाम भएको आरोप लगाए । ‘धेरैले सरकारलाई सुझाव दिए । न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले सुनेन । नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था ? दोष कसको ? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो ? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको । सरकारको अकर्मण्यताले रोकेको । असक्षमताले रोकेको हो ।’

यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने भन्दै उनले थपे, ‘अब सहयोग गर्छौं भनेर बस्दैनौं, उत्तर चाहिन्छ । दश अरब कहाँ खर्च भयो ? हामीलाई एकएक हिसाव चाहिन्छ ।’

क्वारेन्टिन क्वारेन्टिन जस्तो नभई कन्सन्ट्रेसन क्याम्प भएको भन्दै उनले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने बताए । उनले सबै प्रश्नका जवाफ दिन माग गरे ।