काठमाडौं । युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको इज्यूम शहरबाहिर सयौँ चिहानहरु भेट्टिएको बताएको छ ।
यसअघि रुसले कब्जा गरेको भू–भाग फिर्ता लिन अघि बढिरहेका युक्रेनी सैनिकहरूले सहर बाहिरको जङ्गलमा काठको क्रस चिह्नमा राखिएका चिहानहरू भेटाएको बताएका हुन् ।
अधिकांश चिहानहरूमा व्यक्तिगत विवरणसहित नम्बरहरू समेत राखिएको छ । अधिकारीहरूले केही चिहानहरूको आजबाट उत्खनन गरिने बताएका छन् ।
चिहानमा पुरिएका कसरी मारिए भन्ने खुल्न नसके पनि प्रारम्भिक विवरण अनुसार उनीहरूको मृत्यु बमबारी र स्वास्थ्य उपचारको पहुँचमा अभावका कारण भएको देखिएको छ ।
युक्रेनको राष्ट्रिय प्रहरी बलका प्रमुखका अनुसार अधिकांश शवहरू गैरसैनिकका रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले उक्त सहरमा केही दिनमै आफ्नो अनुगमन टोली पठाउने बताएको छ ।
राष्ट्रसंघको मानव अधिकारसम्बन्धी कार्यालयका प्रवक्ताले मारिएकाहरू सर्वसाधारण वा सैनिकहरूमध्ये को थिए र उनीहरूको मृत्युको कारण के थियो भन्नेबारे पत्ता लगाउने प्रयास गर्ने बताएका छन् ।
इज्यूम सहर युद्धको सुरुवाती दिनहरूमै रुसी कब्जामा परेको थियो । यो क्षेत्रलाई रुसले पूर्वबाट थप फौजहरू पठाउने मुख्य केन्द्रको रूपमा प्रयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्