काठमाडौं । इंग्लीश फुटबल खेलाडी राहीम स्टर्लिङ्गले फुटबलमा कायम रहेको रंगभेद अन्त्यका लागि धेरै अश्वेत प्रशिक्षकहरु चाहिने बताएका छन् ।
म्यानचेस्टर सिटीका स्ट्राईकर स्टर्लिङ्गले अश्वेत खेलाडीहरुलाई प्रशिक्षणमा लाग्न प्रेरित समेत गरे ।
अमेरिकाको मिनिसोटा राज्यमा गत मे २५ मा एक जना निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी बर्बरताका कारण निधन भएपछि अमेरिकासहित विश्वभर अहिले रंगभेद विरोधी प्रदर्शन भइरहेका छन् ।
बेलायतमा पनि हजारौँको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी छन् । स्टर्लिङ्गले ती प्रदर्शनमा आफ्नो समर्थन जनाउँदै आएका छन् ।
बिबिसीसँगको कुराकानीमा २५ वर्षीय खेलाडी स्टर्लिङ्गले समाजमा परिवर्तन खाँचो छ भन्ने आवश्यकता बुझाउन यस्ता प्रदर्शनले सहयोग गर्ने बताए ।
तर त्यसका लागि सबै पक्षले लगातार धेरै काम गर्न बाँकी रहेको भन्दै उनले फुटबलमा रहेको विभेद अन्त्य गर्नका लागि अहिले खेलाडी रहेका अश्वेतहरु प्रशिक्षक बन्नु पर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्