१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध मुद्दा दर्ता


12.454k
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता भएको छ ।

अजय र सिद्धार्थ ​​आफ्नो आगामी फिल्म ‘थ्याङ्क गड’ लाई लिएर यतिबेला निकै चर्चामा छन् । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिल्म बहिष्कारको माग गरिरहेका छन् । उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दावी गरेका छन् । अजय, सिद्धार्थ र फिल्मका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ । यी तीनजनाविरुद्ध धार्मिक भावनामा ठोस पुर्‍याएको आरोप लगाइएको छ । यसका साथै नाफा कमाउन र टीआरपी बढाउनका लागि फिल्ममा आपत्तिजनक दृश्य प्रयोग गरिएको पनि गुनासो छ ।

एकातर्फ बलिउड फिल्म बहिष्कारको प्रचलनमा छ। अर्कोतर्फ कायस्थ समुदायले अजय र सिद्धार्थविरुद्ध धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाएको छ । किनकि कायस्थ समुदायले भगवान चित्रगुप्तको पूजा गर्छन्।

अजय र सिद्धार्थले उक्त फिल्ममा भगवान चित्रगुप्तको खिल्ली उडाएको र उनीविरुद्ध अपमानजनक शब्द प्रयोग गरेको आरोप लगाएको छ । वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन् ।

मजिस्ट्रेटले यस मुद्दामा उजुरीकर्ता हिमांशु श्रीवास्तवको बयान रेकर्ड गर्न आगामी नोभेम्बर १८ लाई तोकेको छ । हिमांशुले अधिवक्ता उपेन्द्र विक्रम सिंह र सूर्य सिंह मार्फत अतिरिक्त मजिस्ट्रेटको अदालतमा उजुरी दिएका हुन् ।

इन्द्र कुमार द्वारा निर्देशित यस फिल्ममा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ । फिल्म आगामी २४ अक्टोबर मा रिलिज हुने छ ।