
काठमाडौं, जेठ २५ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) लाई एकीकृत गरी बनेको जनता समाजवादी पार्टी (जसपा) को पहिलो अध्यक्ष हुने डा. बाबुराम भट्टराईको उद्देश्य महन्थ ठाकुरका कारण पूरा हुन सकेन ।
भट्टराई पहिलो अध्यक्ष हुने गरी जसपाले निर्वाचन आयोगमा दल दर्ताका लागि प्रयास गरेको भएपनि राजपा नेता ठाकुरले भट्टराईको मातहतमा आफू नबस्ने बताएपछि बरियतामै उनी चौथो नम्बरमा पुगेका छन् । नेताहरुबीच नेतृत्वमा कुरा नमिल्दा दल दर्ताका लागि दुबै पार्टीका नेताहरु कागजपत्र लिएर कार्यालय समय सकिनै लाग्दा निर्वाचन आयोगमा पुगेका थिए ।
शुुरूमा पार्टीमा संघीय परिषद् अध्यक्ष एक र केन्द्रीय परिषद अध्यक्ष दुई जना रहने गरी छलफल अघि बढेपनि दल दर्ता हुँदा ठाकुर र यादव दुई जना अध्यक्ष रहने गरी दर्ता गरिएको हो । अब पार्टीमा तीन जना वरिष्ठ नेता रहने छन् ।
पूर्वप्रधानमन्त्री भट्टराई नयाँ पार्टीको पनि संघीय परिषद अध्यक्ष हुने र बरियतामा पनि उनी नै पहिलो रहने समझदारी भएको समाजवादी पार्टीका नेता अशोक राईले पार्टी दर्ता गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिएका थिए ।
तर राजपा नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न नमानेपछि बाबुराम पनि रिसाएर बरियतामा ठाकुरको लगत्तै मुनी नबसी चौथो नम्बरमा बसेको एक नेताले बताए । आयोगमा दर्ता गर्न लैजाँदा उनलाई दोस्रो नम्बरमा राखिएको थियो ।
आफू दुई नम्बरमा नबस्ने भनेपछि टिपेक्स लगाएर मेटेर उनको नाम राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखेर थपिएको हो । जसपामा १ सय ५१ राजनीतिक समिति, ७०१ जनाको केन्द्रीय कमिटी हुने छ । नेताहरुबीच आन्तरिक सहमति भने संघीय परिषदको अध्यक्ष भट्टराई र संसदीय दलको नेता महतोलाई बनाउने भन्ने रहेको राजपामा एक नेताले बताए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि दुई पार्टीबीच गत वैशाख १० गते राति एकीकरणको घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्