२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


के गर्ला नेकपाले एमसीसीमा निर्णय ? सोमबार सचिवालय बैठक


0
Shares

काठमाडौं, जेठ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न पार्टी सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बोलाइएको सचिवालय समितिको बैठकमा मुख्य गरी एमसीसीबारे छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बालुवाटार स्रोतले जनाएको हो । त्यसअघि आइतबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली एमसीसी सम्झौता संसदबाट पारित गरी काम थाल्ने पक्षमा छन् भने नेकपाका केही नेता एमसीसी जस्ताकोतस्तै पारित गर्न नहुने अडानमा छन् ।

अध्यक्ष दाहालसहितका नेता एमसीसीबारे अध्ययन गर्न गठित नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्नुपर्ने पक्षमा रहेका छन् । पार्टीभित्रको शक्ति समीकरणको राजनीतिक किचलोमा एमसीसीलाई पनि पारिएको छ ।

तीन सदस्यीय कार्यदलमा दुई सदस्य खनाल र भीमरावल एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने पक्षमा छन् भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पारित गर्नुपर्ने मत राखेका छन् ।