२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


हामीले प्रयोगका लागि २० लाख खोप तयार पार्यौंः अमेरिकी राष्ट्रपति ट्रम्प


0
Shares

एजेन्सी, जेठ २४ । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरुसको संक्रमणबाट बच्नका लागि खोप तयार पारिएको दाबी गरेका छन् ।

कोभिड–१९ को संक्रमणसँग बच्नका लागि अमेरिकाले २० लाख भ्याक्सिन तयार गरेको ट्रम्पले बताएका हुन् । उनले खोप प्रयोगका लागि तयार भएको दाबी गरे ।

शुक्रबार पत्रकार सम्मेलनमा उक्त खोप प्रयोग गर्नका लागि सुरक्षित र प्रभावकारी हुने वैज्ञानिक निर्णयको प्रतीक्षा मात्र बाँकी रहेको ट्रम्पले बताए ।

खोप तयार भएपनि यसको प्रयोग सुरक्षित हुने पुष्टि भने गर्न बाँकी रहेको उनले बताए । ठूलो रुपमा जनस्तरमा परीक्षणका लागि वैज्ञानिकको अनुमति कुरिरहेको उनको भनाइ थियो ।

उनले उक्त खोप कुन कम्पनीबाट निर्मित भएको भन्ने पनि खुलाएका छैनन् । कुन समयसम्ममा यसको शुरु गरिने छ भन्ने पनि उनले कुने समय बताएनन् ।

ट्रम्पलगत्तै बोलेका वरिष्ठ अमरीकी सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले भने राष्ट्रपतिले बोलेको विषयमा आफूलाई जानकारी नभएकाले यसबारे केही बताउन नसक्ने टिप्पणी गरे ।

यसअघि मंगलवार डा. फाउचीले नै एक मेडिकल सेमिनारमा आउने सालसम्ममा लाखौं खोप तयार हुनसक्ने बताएका थिए ।

अमरीकी प्रशासनले खोप तयार गर्न पाँच कम्पनीलाई काममा लगाएको न्यूयोर्क टाइम्सले जनाएको छ । माडेर्ना, नोवावैक्स र फाइजरलगायतका औषधि कम्पनीहरु वैज्ञानिकको अनुमति पूर्व नै औषधि बनाउने होडमा जुटेका छन् ।