काठमाडौं, जेठ २३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित चारजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्ति कर्ता प्रिन्टसेल इमेजिङ प्रा.लिका सञ्चालक दीपक कुमार भन्साली विरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोप सहित मुद्दा दायर गरिएको हो ।
अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीलाई ४ देखि ६ वर्ष सम्मको कैद र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ ।
साथै, भ्रष्टाचार गरेको रकम जफत गर्न र त्यति नै जरिवाना तिराउन अख्तियारले माग गरेको छ ।








प्रतिक्रिया दिनुहोस्