कृषिजन्य वस्तु निर्यात गर्ने युवालाई बैंकमार्फत सहुलियत कर्जा दिने अध्यक्ष गोल्यान प्रतिवद्धता « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


कृषिजन्य वस्तु निर्यात गर्ने युवालाई बैंकमार्फत सहुलियत कर्जा दिने अध्यक्ष गोल्यान प्रतिवद्धता


39
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताउनुभयो । उहाँले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष गोल्यानले युवाहरु भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गर्नुभयो । उहाँले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गर्नुभयो । अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनुभयो । उहाँले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गर्नुभयो ।

अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनुभयो । उहाँले अब सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने बताउनुभयो ।