२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


बाँदरमूँढे घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग


0
Shares

काठमाडौं, जेठ २३ । चितवनको माडीस्थित बाँदरमूँढे घटनाका पीडितहरूले अझैसम्म पनि सत्य, न्याय र परिपूरण पाउन नसकेको भन्दै घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग गरिएको छ ।

१५ वर्षअघि, २०६२ जेठ २३ मा माओवादीले आमसर्वसाधारण नागरिक चढेको बसमा विस्फोट गराउँदा उक्त घटनामा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मी निर्ममतापूर्वक मारिएका थिए ।

७० जनाभन्दा बढी मानिस घाइते भएको उक्त घटनाका पीडितहरु अझैसम्म पनि गम्भीर शारीरिक तथा मानसिक आघातमा छन् । न्यायका लागि प्रतीक्षारत उनीहरुले १५ वर्ष राज्यको मुख ताकेरै बिताएका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहालले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकारे पनि घटनामा संलग्न दोषीलाई दण्डको कठघरामा उभ्याउने कुनै प्रयास भएको छैन ।

कृष्णप्रसाद अधिकारी हत्याको १६ वर्ष, न्याय पाएनन् अधिकारी दम्पत्तिले

अर्कातिर माओवादीले नै विभत्सरुपमा हत्या गरिएका १६ वर्षीय किशोर कृष्णप्रसाद अधिकारीको हत्याको पनि १६ वर्ष शनिबार पुग्दैछ । २०६१ साल जेठ २४ गते गोरखाको फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीलाई चितवनमा हजुरबुवा हजुरआमालाई भेट्न गएको समयमा माओवादीले चरम यातना दिएर हत्या गरेका थिए ।

उनका पिता नन्दप्रसाद अधिकारी छोराको न्यायका लागि संघर्ष गर्दागर्दै २०७१ भदौमा बिते । उनकी आमा गंगामाया अधिकारी सात वर्षदेखि छोरा र पतिका लागि न्यायको माग गर्दै अनशनमा छिन् ।

एड्भोकेसी फोरम–नेपालले एक विज्ञप्ति निकाल्दै पीडितलाई न्याय दिनेभन्दा पनि पीडकहरुलाई दण्डहीनता सुनिश्चित गर्न राज्यका निकाय सहयोगी बनेको जनाएको छ । स्वतन्त्र विज्ञहरूको टोली गठन  गरेर यस घटनामा औपचारिक फौजदारी अनुसन्धान पुनःआरम्भ गर्न एड्भोकेसी फोरमले माग गरेको छ ।

यी घटनाको सत्यनिरूपण तथा मेलमिलाप आयोगले गर्नेछ भनी पन्छाइनु अनुचित भन्दै फोरमले पीडितहरूलाई नियमित फौजदारी न्याय प्रणालीबाट बञ्चित गराउन खोजिएकोमा आपत्ति जनाएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले न्याय प्रणालीलाई प्रतिस्थापन नगर्ने र मानवअधिकारका जघन्य उल्लंघनका घटनाको अनुसन्धान, अभियोजन र सजाय गर्ने दायित्व राज्यको हुने उसले उल्लेख गरेको छ ।