२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरीले नै गरिन् विरोध प्रदर्शनको समर्थन


0
Shares

एजेन्सी, जेठ २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले अमेरिकामा चलिरहेको विरोध प्रदर्शनको समर्थन गरेकी छिन् ।

गत हप्ता प्रहरी यातनामा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयड मारिएपछि सल्केको विरोधको आगोले हिंसाको स्वरुप ग्रहण गरिरहेका बेला ट्रम्पकै कान्छी छोरी टिफनीले प्रदर्शनको समर्थन गरेकी हुन् ।

टिफनीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक कालो तस्वीर पोस्ट गरेकी छिन् । उनले #BlackoutTuesday र #justiceforgeorgefloyd हैशटैग प्रयोग गर्दै लेखेकी छिन्, ‘एक्लै हामी कमै हासिल गर्न सक्छौं, तर एक साथ हुँदा धेरै कुरा हासिल गर्न सक्छौं ।’

 
 
 
View this post on Instagram

”Alone we can achieve so little; together we can achieve so much.”- Helen Keller #blackoutTuesday #justiceforgeorgefloyd

A post shared by Tiffany Ariana Trump (@tiffanytrump) on

 

ह्वाइटहाउस बाहिर प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेका बेला ट्रम्पकी वकील छोरीले सामाजिक सञ्जालमार्फत् यस्तो सन्देश दिएकी हुन् ।

डोनाल्ड ट्रम्पको दोस्री पत्नी एवं टिफनीकी आमा मार्ला मैपल्सले पनि प्रदर्शनकारीको समर्थन गर्दै कालो पोतिएको स्क्रीनको तस्वीर पोस्ट गरेकी छिन् ।

आफ्नी आमाको साथ टिफनी

लगातार अश्वेत अमेरिकीमाथि प्रहरी ज्यादती बढेको भन्दै भइरहेको प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकाका मुख्य ४० शहरमा कफ्र्यू नै लगाउनु परेको छ । कफ्र्यूकै बीचमा पनि मानिसहरु सडकमा उत्रिएका छन् ।

सामान्य विवादमा पक्राउ गरिएका जर्ज फ्लोयडलाई भुईंमा लडाएर प्रहरी अधिकारीले घुँडाले घाँटीमा ङ्याकेर यातना दिई दिई मारेका थिए । उक्त भिडियो सार्वजनिक हुनेवित्तिकै अमेरिकाभर आक्रोश चुलिएको छ ।

प्रदर्शन तीब्र बन्दै जाँदा राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई बिच्क्याउने गरी अभिव्यक्ति दिइरहँदा पनि स्थिति झन् खराब बन्दै गएको छ । ट्रम्पको यस शैलीको विरोधमा पूर्वराष्ट्रपतिहरु एकसाथ देखिएका छन् भने उनकै पूर्व मन्त्री र अधिकारीहरु पनि विरोधमा उत्रिन थालेका छन् ।

यही बीचमा कान्छी छोरी टिफनीले प्रदर्शनको समर्थन गरेपछि ट्रम्पकै घरभित्र पनि मत विभाजन भएको देखिएको हो ।