
काठमाडौं, भदौ ३ । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी–मनोहरा नगरपालिका–३, ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चारजना घाइते भएका छन् ।
पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती सावित्री सिग्देल, छोराद्वय क्रमशः विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकामा गम्भीर घाइते सावित्रीलाई राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा पठाइएको प्रभागका इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए ।
शिरोमणिसहित छोरा विपुल र विप्लव भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पहिरो गएको स्थलको प्रदेश नम्बर–३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र कागेश्वरी–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत जनप्रतिनिधिले आइतबार अवलोकन गरे ।
पहिरोले सिग्देलको घर पूर्णरुपमा क्षति भएको छ ।
पुरिएका सामान नगरपालिकाको सहयोगमा निकाली छिमेकीको घरमा राख्न दिइएको प्रहरी नायव निरीक्षक यादवले बताए ।
सो स्थानमा अझै पहिरोको जोखिम रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्